खाेज्नुहाेस
विज्ञापन

हिमपातअगावै साइपालमा नुन नपुगे हाहाकार मच्चिने चेतावनी

विज्ञापन
Image
विज्ञापन

बझाङ — बझाङको विकट साइपाल गाउँपालिकामा नुनको अभाव हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै ढुवानीको व्यवस्था नगर्दा नुन अभाव देखिन थालेको हो ।

‘पोहोर साल मंसिरमा किनेको नुन अहिलेसम्म चल्यो । पुस लागेपछि छिमेकीबाट ऐंचोपैंचो गरेर खाइरहेका छौं,’ जिल्लाको अन्तिम मानव बस्ती धुलीकी मोतिमा रोकायाले भनिन्, ‘हिउँ पर्न थालिसक्यो । अहिलेसम्म नुन ल्याएनन् । हिउँदभरि अलिनै खानु पर्छ जस्तो छ ।’

ठूलो संख्यामा पालिएका भेडाच्याङ्ग्रा र पशुबस्तुलाई पनि त्यही नुन खुवाउनु पर्ने भएकाले उनको घरमा हप्तामै एकाध किलो नुन आवश्यक पर्ने उनले बताइन् । ‘अरुका घरमा पनि सकिन लागेको छ । अब त पैंचो माग्न पनि कहाँ जाने ?,’ उनले भनिन् ।

ठेक्का प्रक्रिया सम्पन्न भएको चार महिनासम्म पनि सम्झौता नहुँदा साइपालमा नुनको अभाव देखिन थालेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत साउन ४ गते नुन ढुवानीका लागि बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो ।

२०८१ भदौ २० गते कर्पोरेसनले छनोट भएका ठेकेदारलाई सम्झौता गर्न आउनका लागि आशयपत्रसमेत प्रकाशन गरेको तर सम्झौता नगर्दा नुन ढुवानी हुन नसकेको साइपालका लागि छनोट भएको ढुवानीकर्ता कम्पनी देउती बज्यै कन्ट्रक्सन एस प्रालिले जनाएको छ ।

‘कर्पोरेसनले पत्रिकामा आशयको सूचना पनि निकाल्यो । सम्झौता गर्न आउ भनेर पत्र पनि दियो तर सम्झौता गर्न जाँदा कहिले के कहिले के भनेर टारिरहेको छ,’ ढुवानीकर्ता कम्पनी देउती बज्यै कन्ट्रक्सनका टोपनारायण चालिसेले भने, ‘उता नुन सकियो छिटो ढुवानी गर्नु पर्‍यो भनिरहेका छन् । सम्झौता नभएर कसरी काम सुरु गर्ने ?’ उनले साइपालको नुन ढुवानीको विषयमा अख्तियारमा मुद्दा परेको भन्दै कर्पोरेसनले ढुवानी गर्न नमानेको बताए ।

अघिल्ला वर्षहरूमा साल्ट ट्रेडिङ कर्पोरेसनले साइपालका लागि हरेक वर्ष मंसिरसम्म नुन ढुवानी गरेको थियो । गत वर्ष ढुवानी गरेको नुनले पुसको महिनासम्म धाने पनि तत्काल ढुवानी हुन नसके नुन अभाव चर्किने साल्ट ट्रेडिङ कर्पोरेसन बझाङ डिपो प्रमुख नरबहादुर ढाँटले बताए । Warning that there will be chaos if salt does not reach Saipal before the snowfall‘गत वर्ष ७ सय ९६ क्विन्टल नुन साइपाल पठाएको हो । त्यसले यो महिनासम्म धान्छ । अब तत्काल ढुवानी हुन सकेन भने माघबाट अभाव चर्किने देखिन्छ,’ उनले भने, ‘अब जनुसुकै हिउँ परेर बाटो बन्द हुन सक्छ । हिउँ पर्‍यो भने चैतमा मात्रै ढुवानी गर्न सकिन्छ । त्यसो भए झन् समस्या हुन सक्छ ।’ नुन ढुवानीको सम्झौता नहुनुका कारणबारे आफूलाई केही थाहा नभएको पनि उनले बताए ।

यस वर्षको साइपालका लागि साल्ट ट्रेडिङले नौ सय क्विन्टल नुनको कोटा छुट्याएको छ । कण्ठरोग नियन्त्रण कार्यक्रमअन्तर्गत अनुदानमा ढुवानी गर्नका ४७ लाख १८ हजार ७ सय १८ रुपैयाँमा ठेक्कासमेत स्विकृत गरिसकेको अवस्थामा सम्झौता नभएका कारण पालिकाबासीले अनिलो खानुपर्ने अवस्था भएको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए ।

‘ठेकेदारलाई छिटो ढुवानी गर भन्दा सम्झौता भएको छैन भन्छ । साल्ट ट्रेडिङमा भन्दा मुद्दा परेको छ भन्छ । के मुद्दा हो ? भनेर पनि भन्दैनन्,’ उनले भने, ‘जे भएको भए पनि हामीले नुन त खान पाउनु पर्‍यो नि !’

साइपालका बासिन्दाले २०७३ सालअघिसम्म प्रतिकिलो २५० रुपैयाँसम्म तिरेर नुन किन्नु पर्थ्यो । २०७३ असोज १२ गते ‘सुनजस्तै महँगो नुन’ शीर्षकमा बझाङका स्थानीयलाई ढुवानी अनुदानमा राज्यले नौ रुपैयाँ प्रतिकिलोका दरले दिने गरेको नुन साइपालका बासिन्दाले महँगोमा किन्नु परेको बारे समाचार प्रकाशित भएको थियो ।

उक्त समाचार प्रकाशन भएलगत्तै कर्पोरेसनले साइपालमा पनि वितरण केन्द्र स्थापना गरी नौ रुपैयाँमै नुन दिने व्यवस्था गरेको थियो । त्यसयता निरन्तर ढुवानी हुँदै आएको भए पनि यस वर्ष कर्पोरेसनले नै ढिलाइ गर्दा समस्या भएको हो ।

ढुवानीमा ढिलाइ भएको बारे जानकारी लिन साल्ट ट्रेडिङ कर्पोरेसनकी निमित्त प्रमुख शर्मिला शाक्यलाई सम्पर्क गर्दा सुरुमा यस विषयमा आफूलाई जानकारी नभएको र केही बेरमा बुझेर भन्न सक्ने बताइन् । त्यसपछि निरन्तर सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन