कैलालि। सुदूरपश्चिम प्रदेश सरकारले पाँच हजार किलोमिटर बराबरको सडक निर्माण गर्न गुरुयोजना तयार गरेको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालयसहितका निकायसँगको समन्वयमा प्रदेशका नाैवटै जिल्लामा पाँच हजार किलोमिटर बराबरका एक सय ६६ वटा सडकको गुरुयोजना तयार पारेको हो ।
सरकारले बनाएको गुरुयोजनाअनुसार प्रदेश लोकमार्ग र प्रदेश सहायक लोकमार्गको पहिचान गर्दै वर्गीकरण गरिएको छ । दूरीका हिसाबले सबैभन्दा धेरै अछाममा ७७२ किलोमिटर लम्बाइका १९ वटा योजना छनोट गरिएको छ ।
बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गुरुयोजनाअन्तर्गत छनाैट गरेका सडक प्रदेश सरकारबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरी पाँचदेखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्नुपर्नेछ । गुरुयोजनाअन्तर्गत छनाैटमा परेका सडकका विषयमा यातायात पूर्वाधार निर्देशनालयले बिहीबार धनगढीमा कार्यशाला गोष्ठीसमेत सम्पन्न गरेको छ ।