डडेल्धुरा : उग्रतारा भगवती मन्दिर सुदूरपश्चिमकै ठूलो तथा प्रसिद्ध शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरादेखि ४ किलोमीटर पश्चिमपट्टी रहेको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । नेपाल सरकारले पर्यटकीय स्थलको प्रवर्धनका लागि ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा अमरगढी उग्रतारा भगवती मन्दिरलाई पनि राखेको छ ।
यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका

मन्दिरहरूमा एक मन्दिर मानिन्छ । उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रामाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । तर पनि उग्रतारा भगवती मन्दिरको उत्पत्तिको किंवदन्ती भने रोचक छ ।
किंवदन्ती के छ ?
धेरै वर्ष उग्रतारा भगवती रहेको स्थाननजिक लटाउली गाउँमा साँकी जातीको बसोबास रहेको थियो । जुन कुरा त्यहाँ हाल रहेको भूबनोटको आकृतिबाट पनि प्रष्ट हुन्छ । हाल रहेको उग्रतारा भगवतीे मन्दिरको वरपर तिनै लटाउलीका साँकी जातीहरूले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिका एक जना किसान हलो जोतिरहेको अवस्थामा हलोको फाली शिलामा गढेर शिलाबाट निरन्तर रगतको धारा बगिरहेको अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन । रगत धेरै आउँदा रगतको खोला बग्न शुरू भयो । हाल पनि यो खोला यही मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ । यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले आफूलाई खान ल्याएको खिचडी (मासबाट बनेको) सोही शिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसान नै त्यहाँको पुजारी भए ।
उनका सन्तानहरू पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुती करिब ५ किलोमिटर तल शैलेश्वर महादेव मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिरिसकेर अन्य परम्परागत क्रिया गरी वास्तविक गृहस्थी जीवन त्यागी भगवतीको पूजामा रहनुपर्ने प्रचलन छ ।यसरी पुजारी अवतार नभएको अवस्थामा मन्दिरको बाहिरी शिलाभन्दा अलि टाढा मात्र ब्राम्हणहरूले पूजा गराउने चलन छ । यिनै पुजारीबारे अर्काे किंवदन्ती पनि छ ।
एक समय उग्रतारा माताको पुजारीको वृद्ध अवस्थासम्म पनि सन्तान नभएकाले सन्तान पाऊँ भनी आग्रह गर्दा उग्रतारा माताले ‘पछि दुःख पाइन्छ’ भन्दा पनि उसले सन्तानका लागि ढिपी गरिरहँदा उसको छोरो भयो । छोरो ठूलो भएपछि पुजारीको सबै घरव्यवहार छोराले सम्हाल्थे । तर, एक वर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै पाहुनाहरू आए । जो आज पनि यथावत् छ । आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउका मानिसहरू आफ्नो कर्तव्य सम्झन्छन् ।
सोही आधा रातमा पाहुनाकै सत्कारमा ती वृद्धाको छोराबुहारीको समय बितेको र त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकाले वृद्धा पुनः आक्रोशका साथ राति नै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस् भन्दा भोलिपल्ट मेलाका दिन दिउँसो ठीक १२ बजे उसको छोराको मृत्यु भएको किंवदन्ती सुन्न पाइन्छ ।
हरेक वर्ष ‘देहिजात’ मेला
कात्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरूले आ आफ्नो वीरताका साथ लडाइ हुँदा रगतको खोला बग्ने गरेको जसलाई त्यहा न्वाखोलाको रूपमा नामकरण गरिएको छ । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हरेक वर्ष हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू आउँछन् ।

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला शुरू हुन्छ ।
पण्डित भोजराज भट्टका अनुसार बिहान ४ बजे धार्मिक परम्परागत रूपमा दाइन दमाह, रूइसिङ, विकुल, भोकर, शंख, घण्टा आदि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा शुरू हुने गर्दछ ।
बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । अष्टमीका दिनसमेत पूजाआजा गरिने मन्दिरमा राँगाको बलि दिने प्रचन पनि रहिआएको छ ।
उग्रतारा मन्दिरको गुरुयोजना निर्माण
उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरु योजना निर्माण गरिएको हो ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र पर्यटन कार्यालय नेपालगञ्जको संयुक्त रकमले गुरु योजना निर्माण गरिएको बताए ।
गुरु योजनाअनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याआश्रम र गौशाला सञ्चालनमा रहेको उनले बताए । पर्यटन कार्यालय नेपालगञ्जको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरवार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीले बताए ।
१०८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब ३ सय जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ । शहरी विकास कार्यालय डोटी र अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा ९ वटा सोलार बत्ती जडान गरिएका छन् भने समितिको आन्तरिक आमदानीबाट सीसी क्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले बताए ।