डडेल्धुरा : जिल्लाको सदमुकामदेखि करिब एक/घण्टा पैदाल यात्रा पुरा गरेपछि देखिन्छन्, एउटा डाँडामाथि अद्धभुत् कलाकारिताबाट सुसज्जित भौतिक पूराना संरचनाहरु । अद्धितीय प्राचीन कालखण्ड भण्डार क्षेत्र अर्थात् हाँटकोट नगरी । सोही हाँटकोट नगरीमा अवस्थित ऐतिहासिक महत्व बोकेको तत्कालीन हाटकोट दरबार । यहीँ हाटकोट दरबारले अहिले ‘अजयमेरु–कोट’ नामले अहिले आफ्नो सुपरिचय स्थापित गरेको छ ।
सदरमुकामबाट पश्चिमतिर एक–डेढ घण्टा पैदल मार्ग पछ्याउँदै जाँदा तल बस्ती र खेतको बीचमा प्राचीनस्थल अजयमेरुकोट देखिन्छ । अहिले मुकामदेखि अजयमेरुकोटसम्म करिब आधा घण्टामा कच्ची सडक मार्ग प्रयोग गरी मोटर गाडीमा सवार भएर चाँडो पुग्न सकिने भएको छ ।
बाइसे/चौबिसे राज्यकालीन डोटी राज्यको राजधानी प्राचीन कलाको संयोजनबाट निर्मित दरबार, देबल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष, पोखरी इत्यादी आकर्षक वास्तुकलाको अनुपम आकर्षणको केन्द्र पनि हो अजयमेरुकोट ।
अजयमेरुकोटको ऐतिहासिक पृष्ठभूमि
अजयमेरुकोटको स्थापना कसले गर्यो भन्ने आधिकारिक दस्तावेज अहिलेसम्म एकिन नभएतापनि एकथरी भनाइ अनुसार कत्युरी राजवंशका राजा अजयपालदेवले ११ औं शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गरेका थिए । अजयपालको नामबाट नै अजयमेरुकोटको नामाकरण भएको हो । अजयमेरुकोटको नामाकरणको तथ्यलाई डोटी खोलाको अभिलेखले पनि प्रमाणित गर्दछ ।
अर्कोतिर स्थानीय गोरख सेठीजीको डायरीमा अजयमेरूकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३ औं शताब्दीमा गरेको कुरा उल्लेख छ भने कसै–कसैले अजयमेरुकोटको स्थापना १३ औं शताब्दीको उत्तरार्द्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि.सं. १४१९ भन्दा पहिले नै सिंजा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरी कोटको स्थापना गरेको मान्दछन।

कतिपयले यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गर्दछन् । यद्यपी, यो कोट कत्युरी वंशजका पाल राजाहरूले नै निर्माण गरेको प्रमाणहरु भेटिन्छन् । रैका राजवंशका नागी मल्लले वि.सं. १४४१ मा अजयमेरुलाई कब्जा गरेपछि मात्रै अजयमेरुकोट नागी मल्लको कोटको रूपमा चिनिन गएको यस ठाउँमा राजा निरय पालदेवका ताम्रपत्र र वि.स.१४१९ सम्मका शिलालेखहरू पाइन्छन् ।
वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो । वि.सं.१४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.स.१४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरु भनियो । वि.स.१४१९ देखि १४४१ सम्म करिब २२ वर्ष यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ । यहाँको इतिहास जति खोज्यो त्यति नै पाइन्छ । इतिहासको अनुसन्धान नभएका कारण यसको एतिहासिक महत्व र सान्दर्भिकत अझै इतिहास अध्येताहरुका लागि अन्वेषणको रहस्योद्घाटन केन्द्रका रुपमा अजयमेरुको सम्भावना अधिक रहेको देखिन्छ ।
कस्तो छ कोटको बनावट पृष्ठभूमि ?
अजयमेरुकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठकस्थलसहितका ऐतिहासिक वस्तुहरू छरिएर रहेका छन्। हाल अजयमेरुमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्न अवस्थामा छन् भने एक नाउला पानी खान प्रयोग भइरहेको छ । यस स्थानका नाउला र निरोली, रिसेडीकोट वरपर रहेका नाउलाहरूको वनौट उस्तै–उस्तै देखिन्छ ।
अजमेरुकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरी गाड (नदी) ले घेरेको छ। तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५/२० मिनेट उकालो डाँडामाथि ओक्लनुपर्दछ । डाँडामाथि पुगेपछि यहाँ दरबार र राजाका भाइभारदारहरूको बस्ने हबेलीहरू अर्थात कोठाहरुका भग्नावशेष यत्रतत्र देखिन्छन् ।
अहिले दरबारको संरचना सबै भत्केको अवस्थामा रहेका छन् । देरबार बन्ने बेलामा मुख्य दरबार सात तलाको बनेको थियो। यसको सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।

यसकै छेऊतिर राजाका घोडा बाँध्ने स्थान छ। यसलाई स्थानीयहरू ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गरिन्छ । दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाढ (नदी) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुङ्गाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा सूर्यको प्रकाश परोस् भन्ने हेतुले बनाइएका २५ वटा झ्यालसहितको प्राचीन सिँढी रहेका छन् ।
यी सबै शिल्पकलाहरू उत्तरी भारतबाट आएका ‘जाड’ जातिका शिल्पकारहरूले बनाएको हो भन्ने मान्यता रहिआएको छ । जो कत्युरी राजाहरूसँगै यहाँ आएका थिए भनिन्छ, ती शिल्पकारहरु ठूला–ठूला ज्यान भएका भयङ्कर हट्टाकट्टा थिए। स्थानीयको दाबीअनुसार केही वर्ष अगाडिसम्म खेतीपाती गर्ने भुभागमा ती ‘जाड’ जातिका शिल्पकारमध्ये कसै एक जनाको पुरानो गाडिएको अस्थिपञ्जर भेटिएको थियो रे । जसको खुट्टाको नलिहाडमा मात्रै ७ माना कोदो अटाएको थियो। यो कोट बनाउँदा अमरगढी नगरपालिका अन्तर्गत सुनेडा भन्ने स्थानबाट तलिगाँ भन्ने ठाउँमा जाने बाटोको दक्षिणतर्फ रहेको ‘हिराखानी’ भन्ने स्थानबाट ढुङ्गा ल्याएर बनाइएको भनेर भनिन्छ ।
कोटस्थलदेखि तल गाडका किनारमा दरबारका मान्छेहरूको बैठकस्थल छ । यसलाई स्थानीयहरू ‘ओखडेकी माँडौ’ भन्ने गर्दछन्। त्यसको केहीमाथि चेतराम नाथको घर नजिकै दुई वटा देवल छन्। नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत रहेको छ र यसै करपुटार खेतको सिरानमा पानी खाने तीन वटा प्राचीन नाउलाहरू समेत रहेका छन् ।
कोटसँग जोडिएको किंवदन्ती
यहाँका तीन नाउलामध्ये एक ‘नाउला ’ मा खेतमा रोपाइँ भइरहेको अवस्थामा बल्ल(गोरु)हरू जुवा र मोहीसहित आएर पानी खाँदा त्यहीँ डुबे भन्ने किवदन्ती रहेको छ । यस करपुटार खेतको गाडतर्फ खेतको किनारमा भैरौँ (भैरव) देवताको थान(स्थान) छ । यो भैरौं देवता तिनै जाड शिल्पकारका पालामा स्थापना गरिएको हो । यहाँका प्रमुख दैवीय शक्तिपिठका रुपमा श्री वीर–वेताल, र श्री समैजी देवता पनि छन्। अजैमरुकोट अवस्थित भूभाग स्थानीय देवशक्ति विभाजनको हिसाबले बेताल देवताको अन्तर्गत पर्ने गर्दछ । अजैमरुकोटको दक्षिणतर्फ गाड(खेला) देखि पारीपट्टी ‘खजाना–कोट’ रहेको छ ।

कोटस्थलको एक किनारमा नागी मल्लद्वारा धामी नचाउने र तल गाड (नदी)मा फाल्ने ढुंङ्गाको खलो छ । दरबार रहेको स्थानदेखि केही वर डाँडामा एक चाक्लो ढुङ्गा र त्यसमा निगालाको मोट्टो राख्ने र त्यसमाथि धेरै संख्यामा कालिगेडा (रिठाका भित्र रहेका कालाकाला दानाहरू) राख्ने गरिन्थ्यो । यी कालिगेडामाथि काँसको थाल राखेर त्यो माथि धामी बसेर नाच्नु पर्ने हुन्थ्यो । यसरी नाच्दा त्यो बसेको स्थान गाडीको चक्का हिँडे जस्तै यताउता सर्ने र बसेको मान्छे धामी काँप्दा पहरोमा खसेर मर्ने गर्दर्थे । यस प्रकार धेरै देवताका धामीहरू मरेका थिए। -sunaulonepal