डडेल्धुरा : महाभारत र चुरे पर्वतको सिमनामा पर्ने आलितालमा पहिलो पटक विश्व सिमसार दिवस मनाईएको छ । भिधिमधेश क्षेत्रको आलिताल गाउँपालिका ३ मा अवस्थित आलितालमा सिमसारको महत्व, संरक्षणका लागि बहस र सरसफाई गर्दै आईतबार विश्व सिमसार दिवस मनाईएको हो ।
हाम्रो साझा भविष्यको लागि सिमासरा क्षेत्रको संरक्षण भन्ने मूल नारा यसको रहेको थियो । यसै विषयमा आलिताल गाउँपालिका र छिमेकी डोटी जिल्लाको जोरायल गाउँपालिकाका जनप्रतिनिधि, आलिताल सव डिभिजन वन कार्यालयका वन अधिकृत, यस क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयहरुको उपस्थितीमा जानकारी, बहस र आलिताल क्षेत्रमा सरसफाई गरिएको आयोजक ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर बहादुर साउदले जानकारी दिनुभयो ।
उहाँका अनुसार अक्सफाम नेपालसंगको सहकार्यमा रंगुन जलाधार क्षेत्रमा संचालित जलाधार संरक्षण परियोजना अन्तरगत आलिताल गाउँपालिकाको सहयोग एवं सहकार्यमा विश्व सिमसार दिवस मनाईएको हो । सिमसार क्षेत्रको संरक्षणका सवालमा बहस गरिएको उहाँको भनाई छ । आलितालको संरक्षण, भू क्षयीकरण रोक्नका लागि बाँध लगाउने, सिचाईका लागि व्यवस्थित रुपमा कुलो निर्माण, अवलोकनका लागि चारै तर्फ फुटपाथ निर्माण, टहरा निर्माण, घेरबार गरिएको आलिताल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर बुढाले जानकारी दिनुभयो ।
तालको पूर्व तर्फको किनारमा भ्यू टावर पनि निर्माण गरिएको उहाँले बताउनुभयो । आलिताल धार्मिक आस्थाका रुपमासमेत रहेकाले यस वर्ष २५ लाख रुपियाँ लागतमा मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । यस अघि आलितालमा पहिलो पटक नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरिएको थियो ।
ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताउनु भएको छ । उहाँका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उहाँको भनाई छ । आलितालमा अहिले रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरिएको छ ।
ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उहाँले उल्लेख गर्नुभयो । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उहाँको भनाइ छ । आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ ।
चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन् । नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवं खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ ।
नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तराष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।